
कंञ्चनपुर असाेज २१ :
इजरायलमा हमासको आक्रमणमा परी काम सिक्न गएका ७ नेपालीको मृत्यु भएको बताइएको छ । शनिबार भएको उक्त हमलामा परी घाइते भएका ७ नेपालीको मृत्यु भएको स्थानीय सोसियल वेलफेयरले जनाएको बताइएको छ ।तर, दुबै देशका सरकारले भने औपचारिक रुपमा पुष्टि गरिसकेका छैनन् ।
सुदूरपश्चिम विश्वविद्यालयबाट काम सिक्न गएकासहित नेपाली कार्यरत एउटा कृषि फर्ममा हमासले रकेट हमला गरेको थियो । गाजा क्षेत्रबाट नजिक रहेको इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा एउटा फर्ममा नेपाली काम कार्यरत थिए ।सो क्षेत्रमा अझै तनावको स्थिति रहेकोले कति नेपालीहरुको मृत्यु भएको भन्ने एकिन विवरण आउन सकेको छैन ।
हमलाको साइरन बजेपछि ६० सेकेन्डमा बंकरभित्र पसिक्नुपर्ने थियो । सोही क्रममा बंकरमा जाँदै गर्दा रकेट विस्फोटका छर्रा लागेर नेपालीसहित घाइते भएका थिए ।
सुरुमा ९ जना नेपाली घाइते भएको जानकारी दिएको इजरायलस्थित नेपाली दूतावासले १२ जना नेपाली सम्पर्कमा नरहेको बताएको छ ।
नेपाली समयअनुसार शनिबार विहान ६ः३० बजेदेखि इजरायलको दक्षिण क्षेत्रमा हमास समूहबाट आक्रमण सुरु गरेको थियो ।
हाल इजरायलमा ४ हजार ५०० नेपालीहरु केयरगिभरको रुपमा कार्यरत रहेका छन् । त्यस्तै, लर्न एण्ड अर्न कार्यक्रम अन्तरगत २६५ जना नेपाली विद्यार्थीहरु इजरायलका विभिन्न फर्ममा कार्यरत छन् । नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदुरपश्चिम विश्वविद्यालयबाट ४९ जना इजरायल गएको बताइएको छ ।
Be the first to comment