
वैशाख १०, २०८१ : गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध परेको पूरक पेसी आज सोमबारका लागि तोकिएको छ । गण्डकीमा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधिकारीको नियुक्ति खारेज गरी आफूलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै दायर गरेको रिटको आज पूर्ण सुनुवाइ हुने कार्यतालिका रहेको छ ।
उक्त मुद्दामा सर्वोच्चले चैत २८ गते अन्तरिम आदेश जारी गर्दै एमालेबाट मुख्यमन्त्री बनेका अधिकारीलाई दीर्घकालीन असर गर्ने निर्णय नगर्न भनेको थियो । जसको पूर्ण सुनुवाइ आजका लागि तोकिएको थियो । सर्वोच्चले दीर्घकालीन निर्णय नगर्न आदेश दिए पनि अधिकारीको सरकारले प्रदेशसभा अधिवेशन बोलाएपछि कांग्रेसले यसको विरोध जनाएको थियो । शुक्रबार ३ बजेका लागि बोलाएको अधिवेशन कांग्रेसले बहिस्कार गरेपछि अनिश्चितकालका लागि स्थगित भएको छ ।
कांग्रेस केन्द्रले समेत यसको विरोध गरेको थियो । ‘प्रदेश प्रमुखहरुबाट आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरी संविधानको मर्म र भावनाको उल्लंघन तथा सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्ने रवैयाप्रति नेपाली कांग्रेस घोर आपत्ति प्रकट गर्दछ,’ कांग्रेस प्रवक्ता डा. महतले भने । ६० सदस्यीय गण्डकी प्रदेशसभामा एमालेका अधिकारीले सभामुख कृष्णप्रसाद धितालसहित ३१ जनाको समर्थनमा मुख्यमन्त्री दाबी गरेका थिए । उनको दाबीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले सदर गरेका हुन् ।
गठबन्धनमा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित आठ सांसद छन् र एकीकृत समाजवादीका दीपक मनाङे छन् । सभामुखसहित गणना गरी मुख्यमन्त्री बन्दा कोशीमा कांग्रेसका उद्धव थापा दुईपटक बर्खास्तीमा परेका थिए ।
Be the first to comment