
कंञ्चनपुर :
जनता आवास कार्यक्रम मार्फत भीमदत्त नगरपालिकामा निर्माण गरिएका घरहरु गुणस्तरहीन भएको आरोप स्थानीय उपभोक्ताले लगाएका छन्। विपन्न दलित समुदायका लागि सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गरिदिएका ती घरहरु गुणस्तरहीन र लागत अनुसार निर्माण नभएको पाइएको छ।
भीमदत्त नगरपालिकाका बिभिन्न वडाहरुमा २८ वटा घर निर्माणका लागि प्रदेश सरकारले आव ०७९/०८० मा १ करोड रुपैयाँ बिनियोजन गरेको थियो। २८ मध्ये २७ वटा घर निर्माण भएका हुन। ती पनि लागत अनुसार गुणस्तरीय नभएको उपभोक्ताले बताएका छन्।
कञ्चनपुर क्षेत्र नं. ३ (१) का प्रदेश सभा सदस्य तथा पूर्व आर्थिक मामिलामन्त्री प्रकाश रावलको संयुक्त लगानीमा सञ्चालित बजरंगी ईटा उद्योगबाट खरिद गरिएका ईटाहरु घर निर्माणमा प्रयोग गरिएका थिए।
केहीँ दिन अघि सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावल, कञ्चनपुर क्षेत्र नं. ३ (१) का प्रदेश सभा सदस्य प्रकाश रावल र हिरा सार्कीलगायतको टोलीले ती घरहरुको अनुगमन गरेको थियो। टोलीमा सहरी विकास तथा भवन कार्यालय धनगढीका तीन जना प्राबिधिक कर्मचारी पनि सम्मिलित थिए।
उक्त अनुगमनका क्रममा पनि स्थानीय उपभोक्ताहरुले घर निर्माणमा कमसल सामाग्री प्रयोग गरिएको गुनासो गरेका छन्।
टोलीले भीमदत्तका सबै घरहरुको अनुगमन गरेको थियो। त्यसपछि आयोजित बैठकमा एमाले संसदीय दलका नेतासमेत रहेका राजेन्द्र सिंह रावल र प्रदेश सभा सदस्य हिरा सार्कीले यसबारे प्राबिधिक कर्मचारीहरुलाई प्रश्न गरेको र काम सम्पन्न भएको रिर्पोटमा हस्ताक्षर नगरेको एक सहभागीले बताए।
सरकारले एउटा घर निर्माणका लागि ३ लाख ३६ हजार रुपैयाँ दिएको थियो। त्यसमा २० प्रतिशत श्रमदान उपभोक्ता आफैले गर्ने भनिएको थियो।
‘घर निर्माण गर्नुभन्दा अघि उपभोक्ता समिति गठन गरिएको थियो,’ एक स्थानीयले भने, ‘तर त्यो समिति कागजमा सिमित भयो, पूर्व आर्थिक मामिलामन्त्री प्रकाश रावल आवद्ध नेकपा (एकीकृत) समाजवादीका स्थानीय नेता मदन सेरालाले ठेकेदार लगाएर काम गराए।’
घरबारविहीन विपन्न दलित समुदायका लागि जनता आवास मार्फत निर्माण गरिएका दुई कोठे र बरण्डासहितका घरहरुमा प्लाष्टर र रङरोगन गर्न बाँकी नै छ।
झ्याल, ढोकामा अस्थायी प्रकारका प्लाई प्रयोग गरिएको छ। बर्षाले ती प्लाईका ढोका पनि मक्किन थालेका छन्। ‘प्लाष्टर नगरिएका घरहरुमा प्रयोग गरिएका सामाग्री कमसल भएको टाढैबाट देख्न सकिन्छ,’ नाम उल्लेख नगर्ने सर्तमा एक दलित समुदायका युवाले भने, ‘हामी आफैँले घर बनाउन खोजेका थियौँ, तर दिइएन, कमिसनको चक्करमा ठेकेदार लगाएर सेरालाले काम गराए।’
निर्माण गरिएका घरहरु सरकारी अनुदान भन्दा आधा कम मूल्यमा बन्नसक्ने सम्भावना हुँदाहुँदै रकम दुरुपयोग गरिएको आरोपसमेत लागेको छ। ‘घरमा प्रयोग गरिएका सामाग्रीको बजार मुल्य जसले बुझेपनि हुन्छ, कागजमा एउटा छ, प्रयोग अर्कै गरिएको छ,’ ती युवाले भने।
जनता आवास कार्यक्रममार्फत भीमदत्त नगरपालिका वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १७ र १९ मा २७ वटा घर निर्माण गरिएका छन्। सहरी विकास तथा भवन कार्यालय धनगढीका कार्यालय प्रमुख गोविन्द देवकोटाले जिल्ला दररेट र विभागीय नम्स हेरेर घर निर्माणको मूल्यांकन गरिएको बताए।
‘कुन सामान कहाँबाट ल्याइयो भन्नेमा हाम्रो सरोकार हुने कुरा भएन,’ उनले भने, ‘प्राबिधिकहरुले मूल्यांकन गरिसक्नु भएको छ। घर हस्तान्तरणको काम बाँकी छ।’ प्रमुख देवकोटाले प्रदेश सभा सदस्यहरु उपस्थित कार्यक्रममै उपभोक्ता समिति गठन भएको पनि बताए।
Be the first to comment