
कंञ्चनपुर :
शैल्यशिखर नगरपालिका–९ स्थित गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माण कार्य अलपत्र परेको छ। ठेकेदार कम्पनीकोे लापरबाहीले निर्माण अधुरै छ।
रोकिएको काम सुरु गर्न ६ पटक पत्राचार गरेपनि ‘नेता ठेकेदार’ले सत्ताको आडमा अटेर गरी निर्माण अलपत्र पारेको विद्यालयको आरोप छ।
संघीय सरकारको नमुना विद्यालय कार्यक्रम अन्तर्गत गोकुलेश्वर माविको ९ कोठे भवन निमार्णका लागि २०७७/०७८ मा १ करोड ४५ लाख बजेट आएको थियो। ७६ प्रतिशत बिलो अर्थात ७९ लाख ४२ हजार रुपैयाँमा उषा निर्माण सेवा प्रालीले ठेक्का सकारेको थियो।
शैल्यशिखर नगरपालिका–१ बलाँचका लालिराम विश्वकर्मा (अभिषेक) उक्त कम्पनीका सञ्चालक हुन्। नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटीका सचिवालय सदस्यसमेत रहेका विश्वकर्माले ‘सत्ताको आडमा’ काममा लापरबाही गरिरहेको विद्यालय प्रशासनले जनाएको छ।
माओवादीमा जनयुद्धकालीन समयदेखिनै सक्रिय विश्वकर्मा हालका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टसँगै नेकपा एमालेमा समाहित भएका थिए। उनी सञ्चालक रहेको कम्पनी र विद्यालयबीच भएको सम्झौता अनुसार समयमै काम नगर्दा भवन निमार्ण कार्यमा ढिलाई भएको छ।
समयमै ठेकेदारले काम नसक्दा विद्यालयले संघीय सरकारबाट नमुना विद्यालय कार्यक्रम अन्र्तगत पाउने थप अनुदान समेत रोक्का हुन सक्ने विद्यालय व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष जगदीश बिष्टले बताए।
सुरुमा निमार्ण सामाग्रीको अभावमा काम रोकिएको र अहिले सामाग्री पुगेकाले काम जारी रहेको बताउँदै यही चैतमा सम्पन्न गरिसक्ने ठेकेदार विश्वकर्माले बताए।
‘हामी काम गरिरहेका छौं। ८० प्रतिशत काम सकिएको छ। बीचमा सिमेन्ट र सरियाको भाउ बढ्यो, बढेको भाउमा निमार्ण सामाग्री खरिद गरेर हामी निमार्ण गर्न सक्दैनौं घाटा हुन्छ। त्यसैले काम रोकिएको हो,’ उनले भने।
ठेकेदार विश्वकर्माले काम सुरु भइरहेको दाबी गरेपनि त्यहाँ अहिले काम भने भएको छैन।
Be the first to comment