लटिनाथ देवताको परिचय र इतिहास

कंञ्चनपुर माघ २५ : दार्चुला जिल्लामा लटिनाथलाई लटबाब, लट्या, लाटो आदि नामले पुकारिन्छ। लटिनाथ देवतालाई न्यायका देवताको रुपमा लिने गरिन्छ। मलैनाथका जेठा छोरा लटिनाथ हुन्। लटिनाथका पिता मलैनाथले हुणदेशका राजा छिपलाकि रानी भागाश्रीलाई आफ्नी आठौं रानीको रुपमा भित्र्याएपछि छिपलाले आफ्नो सैन्यबलका साथ मलैनाथ र भागाश्रीको निवासस्थान शिखरधुरामा आक्रमण गर्दा सो आक्रमणको प्रतिउत्तर दिन आफूसङ्ग कोही वीर योद्धा नभएको र जेठो छोरा लटिनाथलाई नदीमा बगाएकोमा पश्चाताप गरिरहेको समयमा मार्मा थलीबाट लटिनाथको प्रस्थान युद्धस्थलमा हन्छ। शिखरधुरामा मलैनाथ र भागाश्री लुकेको स्थान पत्ता लगाउन छिपला पक्षले दह बाँधी सो दहबाट प्रकाश परावर्तन गराउन लाग्दा लटिनाथले १२ मन फलामको गोला प्रहार गरि उक्त दह भत्काईदिएको जनश्रुति रहेको छ। साथै छिपला पक्षको आक्रमणबाट परेका पहिरोहरुलाई पिठ्यु थापेर माथितिर फर्काईदिएको कुरा पनि लटिनाथको गाथा (झोडो) मा सुन्न पाईन्छ। मलैनाथ पक्षको सेनापतिको भुमिकामा रहेका लटिनाथले युद्धमा छिपला पक्षलाई पराजित गरिसकेपछि मलैनाथ र लटिनाथको चिनजान भएको प्रसङ्ग आउँछ। कुराकानीका क्रममा आफुले अरु रानीहरु र ज्योतिषको कुरा सुनेर पितालाई नराम्रोहुने ग्रह परेको भनेर नदीमा बगाएको शोभाश्री पुत्र उनै लटिनाथ भएको प्रस्ट हुन्छ। एकातर्फ छिपलामाथीको विजय र अर्कोतर्फ वर्षौ पहिले शिशु अवस्थामा नदीमा बगाईएको पुत्र जवान भएर फर्किएको देख्दा मलैनाथलाई औधी खुसी लाग्छ। खुसीकै माहोलमा मलैनाथले आफ्नो भन्दा पहिले पुजाआजा हुने र जात्रा लाग्ने घोषणा गर्नु हुन्छ। सोही अनुरुप कार्तिक शुक्ल द्वितियामा लटिनाथको र कार्तिक शुक्ल चतुर्दशीमा मलैनाथको जात्रा लाग्ने गर्दछ। लटिनाथको मुल बासस्थान दार्चुला जिल्लाको मार्मा क्षेत्रमा पर्ने तलाईमाण्डौ हो। लटिनाथले आफ्नो जीवनकालमा केही समय बसोबास गरेका अन्य सबै क्षेत्रहरुमा लटिनाथको मन्दीर रहेको छ। त्यसमध्ये शैल्यशिखर –८ दार्चुलामा पर्ने बन्तोली पनि एक हो। मुलथान तलाईमाण्डौ पछि बन्तोली,विजयपुर,चौड र खर्क, पौडीलाई विशेष महत्त्व दिने गरिन्छ। बन्तोली लगायत लटिनाथका मन्दिरहरुमा प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन पुजा आराधना एवम् रात्रीकालिन भव्य जात्रा लाग्ने गर्दछ। विशेषगरि बन्तोली र मड चौडमा कार्तिक शुक्ल द्वितीयाको दिन भब्य रात्रीकालिन जात्रा लाग्ने गर्दछ। उक्त जात्रामा टाढाटाढाबाट श्रद्धालु भक्तजनहरू पूजाआजागर्न र जात्रामा रमाउनको लागि आउने गर्दछन्। आधुनिक जीवनशैलीले जात्रामा केही नराम्रा पक्ष तथा विकृतिहरू समेत देखा पर्न थालेका छन्। मन्दिर व्यवस्थापन समितिले जति प्रयास गरेपनि लिकीछिपी मदिरजन्य पदार्थको बेचविखन गर्दा केही अस्वभाविक कृयाकलापहरू जस्तैः झैझगडा, बेथितिहरू तथा अनुचित कृयाकलापहरू पनि बढ्दै गएको देखिन्छन्। जातमा टाढा टाढाबाट दमाहा, झ्याली, वेकुल (विगुल), भाकल सहितका केही मूर्तिको साथमा नवतन्नेरी युवाहरू दमाहा, झ्याली, विगुलको संगीतमय धूनमा रमाउँदै नाच्दै, गाउँदै, बजाउँदै जात लगेर मन्दिरमा जाने गर्दछन्। मन्दिरहरूमा भक्तिभाव पूर्वक चढाइएका सामानहरू मन्दिरका गहना जस्तै हुन। यी सामानहरूमा विभिन्न मुर्तिहरू, दमाहा, झ्याली, भोकर, मिजरा, विगुल, घण्ट, त्रिशूल, मयुर पंखी, चौरीगाईको पूछ, डोली, तापदानी, छात, छडी, नरसिंह बाजा, गडुवा, देव सिंहासन, पानस,  पगरी, भाला, शंख, कलस, तामाको गाग्री, कुणेलो, आदि रहेका छन्। मन्दिरमालाग्ने जात्राको बारेमा आफूले देखेको र अनुभवको आधारमा थोरै रात्रीकालिन जात्राको बारेमा वर्णन गर्नु सान्दर्भिक हुन्छ। जात्रा लाग्ने मन्दिर परिसरको छेउछाउमा अस्थायी टेन्टहरू निर्मित विभिन्न पसलहरू राखिएका हुन्छन्। मन्दिरको छेउछाउमा होटलहरूपनि खोलिएका हुन्छन्। विभिन्न प्रकारका मिठाईँ, बाबर, सेल, लाउन, पुरी, खसीको मासु, तरकारी, जिलेबी, चिया आदि। अहिले त प्रायः सबै ठाउँमा बिजुली वत्तीको व्यवस्था भइसकेको छ। केही वर्ष अगाडिसम्म सबै पसलहरूमा गैसको चहकिलो प्रकाशसँगै एकै लाइनमा पसलहरू राखिएका हुन्थे।

जात्राको समापन बिहान करिब ४ः००÷५ः०० बजेतिर दमाहा, झ्याली, विगुल, भोकरको विशेष संगीतमय धुनमा देवताका सम्पूर्ण गहना विभिन्न मुर्तिहरू, दमाहा, झ्याली, भोकर, मिजरा, विगुल, घण्ट, त्रिशूल, मयुर पंखी, चौरीगाईको पूछ, डोली, तापदानी, छात, छडी, नरसिंह बाजा, गडुवा, देव सिंहासन, पानस,  पगरी, भाला, शंख, कलस आदि दर्शकहरूले हात हातमा, काँधमा समाई पाँचपटक बाजाको संगीतमय धुनलाई नरोकी मन्दिर परिक्रमा गरेर समापन गरिन्छ। अब श्रद्धालु भक्तजनहरू घर जानकोलागि तछाड मछाड गर्दछन्। पसलहरूमा निकै भिडभाड हुने गर्दछ। 

(स्रोत सामाग्रीः काशीदत्त भट्ट (२०४३) मालिकार्जुन भक्तिखण्ड काव्य हरिद्धारः फैन्डस प्रिन्टिङ प्रेस।, इश्वरदत्त बडु (२०७१) दुहूँ क्षेत्रमा प्रचलित पौराणिक लोकगाथाहरूको अध्ययन स्नातक शोधपत्र ने.स. वि.वि. शारदा विद्यापीठ महेन्द्रनगर कञ्चनपुर।, दयाकृष्ण पन्त (२०६७) दार्चुलाको इतिहास महेन्द्रनगर। धामी, राजेन्द्र, दामोदर (२०७८), आराध्यदेव हुनैनाथको महिमा तथा औल्लेकी धामीहरुको वंशावली। गोकुलेश्वर, दार्चुला)

Uncategorized

Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक

कंञ्चनपुर बैशाख २८ २०८२ : दार्चुलाकाे गाेकुलेश्वरमा हुने Public Speaking Darchula season 1 काे लाेगाे सार्वजनिक भऐकाे छ । खलंगा

राजनिती

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा

कंञ्चनपुर २२ बैशाख २०८२, सोमबार : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन्।राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी

प्रदेश

रातिदेखि परेको वर्षाका कारण नारायणघाट–बुटवल सडक अवरुद्ध

कंञ्चनपुर २१ बैशाख २०८२, आईतवार : हिजो रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*