
कंञ्चनपुर : मेरा संघर्ष का दिन हरु म दिलेन्द्र जोशी मेरो उपन्यास अंश यसरी सुरुवात हुन्छ।
शीर्षक
“काठमाडौँमा कोठा भाडामा बस्दा चयनको निन्द्रा कहिल्यै आएन।”
उसले पहिलो पटक सहरमा पाइला टेकेको दिन अझै सम्झन्छ। गाउँको उकाली–ओराली, भटमासको भातको सुवास र आमाको मायालु स्वरबाट टाढा, ऊ चिल्ला सडक, गगनचुम्बी भवन र भीडले भरिएको बसपार्कमा उत्रिएको थियो। हातमा पुरानो झोला, मनमा नयाँ सपना।
“यहींबाट नयाँ जीवन सुरु हुन्छ,” ऊ आफैंसँग बर्बरायो।
तर भाडाको कोठामा पहिलो रात बिताउँदासम्म ऊ बुझिसकेको थियो— सहरले सपना त दिन्छ, तर शान्ति चोरिदिन्छ।
त्यो कोठा सानो थियो, झ्याल बाहिर देखिने दृश्य अरूको टहरो र झुण्डिएका कपडामात्र। बिहानैदेखि वरिपरिको कोलाहल सुरु हुन्थ्यो— कसैको भाँडाको ठोकाठोक, कसैको रडियो, कसैको झगडा। ती आवाजसँगै चयनको निद्रा टुट्थ्यो, र रात परेपछि पनि निद्राले ढोका कहिल्यै ढक्ढक्याएन।
उसका साथीहरू भन्थे,
“सहरमा पैसा छ, अवसर छ, रमाइलो छ।”
तर चयन भन्थ्यो,
“सहरमा निन्द्रा छैन, मन शान्त छैन, केवल दौड मात्र छ।”
पढाइका नाममा उसले दिन बितायो, तर पुस्तकका अक्षरहरू प्रायः आँखा हुँदै मस्तिष्कमा अड्किनु अघि नै गाउँको सम्झनामा बग्थे।
आमाले खेतमा उभिएर बोलाएको दृश्य, बहिनीको हाँसो, बाख्राको घण्टी— यी सबै सम्झनाले सहरको अपार्टमेन्टभित्र घन्किन्थे।
वर्षौँ बिते। कोठा बदलियो, साथी बदलिए, जागिर पनि आयो। तर एउटै कुरा कहिल्यै बदलिएन— निन्द्रा।
निन्द्राले चयनलाई कहिल्यै भेटेन।
उसले बिस्तारै बुझ्यो, सहरले उसलाई बस्ने कोठा त दियो, तर बस्ने मन खोसिदियो।
Be the first to comment